थारु समुदायको ठूलो पर्व माघी सुरु

थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ ।

माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात गर्ने गरिन्छ ।

थारु समुदायका मानिस आज रातभर मघौटा र ढुम्रा गीत गाएर नाचगान गर्ने गर्दछन् । रातभर ढुम्रा गाएका थारु समुदायका मानिस भोलि बिहान नजिकैको नदी तालमा पुगेर विधि अनुसार स्नान गरि घर फर्किने गर्छन् । थारु महतवा संघ दाङका अध्यक्ष रामप्रसाद चौधरीले माघी पर्व बिशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गरेको जानकारी दिए ।