सिटी रेबान फुड फेस्टिभल फागुन १७ देखि

सिटी रेवानको आयोजनामा फागुन १७ देखि २५ गतेसम्म ‘सिटी रेबान महोत्सव तथा फुड फेस्टिभल’ हुुने भएको छ ।

नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने सातौं संस्करणको महोत्सवको तयारीलाई तीब्र बनाइएको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले बताए ।

राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसहित खानाका विभिन्न परिकारको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । ‘अन्य मेला तथा महोत्सव तथा सिटी रेबानले आयोजना गरेको महोत्सव फरक खालको हुन्छ,’ उनले भने, ‘यस पटक मेलालाई परिमार्जित गरी थप आकर्षक र व्यवस्थित बनाउनेछौं ।’

पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा गरिने तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवमा खाना, कृषि, हस्तकला, स्थानीय उत्पादन लगायतका स्टलहरु राखिने महासचिव जीवन दाहालले बताए । महोत्सवमा यस पटक क्यान कास्कीसँग सहकार्य गरी सूचना प्रविधि मेला पनि सँगै हुने भएको छ । प्रदर्शनी केन्द्रस्थित डोममा क्यानले सूचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न स्टल राख्नेछ ।