कपडा व्यवसायी एसोसिएसनमा विष्णुप्रसाद

कपडा व्यवसायी एसोसियसन कास्कीमा विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

एसोसियसनको १९ औं साधारणसभा तथा १० औं अधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा गजेन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा लेखनाथ पौडेल, महासचिवमा धर्ममानसिंह भण्डारी, सचिवमा रामचन्द्र तिमिल्सिना र कोषाध्यक्षमा पोषराज पौडेल चयन भएका छन् ।

सदस्यमा पूर्णबहादुर थापा, रजनी चापागाईँ, सुदर्शन बाटाजू, वीरेन्द्रबहादुर कुँवर र बाबुलाल अग्रवाल छन् । कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले करको दरभन्दा पनि दायरा बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

निजी क्षेत्रलाई अगाडि नबढाएसम्म समृद्धि सम्भव नभएको बताउँदै थापाले अधिकार प्राप्त गर्न शक्ति सञ्चयका लागि व्यवसायिक एकतामा जोड दिए ।


एसोसियसनका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोलाले व्यवसायीले आफ्ना अनुत्तरित सयौं प्रश्नको जवाफ सरकारसँग प्रतीक्षा गरिरहेको बताए । पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले व्यवसायीले झेलिरहेको घरवाहल करसम्बन्धी समस्या समाधानको संघारमा पुगेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले व्यवसायिक मर्यादा परिपालनामा व्यवसायीलाई इमान्दार बन्न सुझाए । स्मार्ट सिटीका नाममा पार्किङ अस्तव्यस्त हुँदा व्यवसायीले झेल्नुपरेको समस्यामा महानगरको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष केशवबहादुर खत्रीले बैंकिङ क्षेत्रका कर्जा नवीकरणमा समस्या रहेको उल्लेख गर्दै त्यसको निराकरणका सम्बन्धमा उपयुक्त पहलकदमी आवश्यक रहेको बताए ।

एसोसियसनका अध्यक्ष नवीन नापितको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपाने, महासचिव गजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए ।