सिक्किममा हरेक परिवारमा १ जनालाई सरकारी जागिर

जब सिक्किममा पवन कुमार चामलिङ मुख्यमन्त्री बनेर आए तब बिकासमा सिक्किमले उछाल नै ल्यायो । बिकास प्रेमी मन्त्रीको रुपमा चर्चित चामलिङ सिक्किमको बिकासमा ठुलो योगदान दिएको कारण पनि उनले लामो समयदेखि मुख्यमन्त्री पदमा रहिरहेका छन् ।

उनै चामलिङले सिक्किममा ‘एक परिवार, एक रोजगारी’ नामक योजनाको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमकाबीच उनले सो योजनाको शुभारम्भ गर्दे सिक्किमका हरेक परिवारका एक सदस्यलाई सरकारी जागिर प्रदान गर्ने भएका छन् ।

उनले सोही कार्यक्रममा कषिका लागि ऋण लिएकाहरुको ऋण पनि माफी गरिदिएका छन् । साथै, उनले राज्यका ३२ विधानसभा क्षेत्रमध्ये दुई–दुईलाई आफैंले अस्थायी नियुक्ति पत्र पनि दिए । यस्तै, यो क्रममा ११ हजार ७ सय ७२ लाई नियुक्ति पत्र जारी गरियो । कार्यक्रमको शुभारम्भ गर्दे चामलिङले भने ” हामी सुरक्षाकर्मी, माली, अस्पतालमा वार्ड अटेन्डेन्ट, अन्य स्वास्थ्य सुविधा, ग्राम पुलिस र गार्ड र सहायक ग्राम पुस्तकालयाध्यक्षसहित २६ विभिन्न पदका लागि नियुक्ति दिइरहेका छौं । यो हाम्रो र हाम्रो राज्यका युवाका लागि खुसीको एक अवसर हो” ।

यसअघि सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारले यो योजना अनुसार २० हजार युवालाई तुरुन्त अस्थायी रोजगारी दिने घोषणा गरेका थिए । अब ती उम्मेद्वारलाई नियुक्ति पत्र दिइएको छ । चामलिङले अस्थायी नियुक्ति भएकाहरुलाई अबको पाँच वर्षभित्र नियमित गरिने र सबैजना स्थायी कर्मचारी बन्ने घोषणा पनि गरेका छन् ।