जनप्रतिनिधि र कर्मचारीकै घरमा छाउगोठ

चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ ।

सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ , महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ, ’ बयकले भने, आफू मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ ।

पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन् ।सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ । स्थानीय सरकार गठनलगत्तै पञ्चपुरी नगरले छाउपडी अन्त्यका लागि भन्दै गाउँमा पटक–पटक जनचेतनामूलक कार्यक्रम गरेको छ।

‘मेरो वडामा हुने कार्यक्रममा अतिथिका रूपमा धेरैपटक छाउगोठ हटाउन भाषण पनि गर्ने गरेको छु,’ वडा सदस्य भण्डारीले भने, ‘आफ्नै घरकाले नमाल्दा अरूलाई अर्ती दिएर मात्रै कहाँ हुँदो रहेछ।’ २०७१ सालमा तत्कालीन तातापानी, बाबियाचौर, गुठु, घाट गाउँ लगायतका गाविसमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरियो। ती गाविसहरु छाउगोठमुक्त घोषणा पनि भए। फेरि अहिले घरघरमा छाउगोठ बनाउन थालिएको छ। सर्वसाधारण नागरिक मात्रै होइन, जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा छाउगोठ बनाइन थालेको छ।