जयगानबाट ओथेलोले ग¥यो वृद्धाश्रमलाई सहयोग

साहित्य, कला समाजसँग जोडिएन भने त्यसको सार्थकता कम हुन्छ । साहित्य, नाटक, संस्कृतिलाई समाजले सघाउनै पर्छ । पोखराका तन्नेरी रंगकर्मीहरुले नाटक मञ्चन गरेर त्यसबाट संकलित रकमबाट वृद्धाश्रमलाई सहयोग गरेका छन् । ओथेलो नाटक समूह पोखराले पुस ६ र ७ गते पोखरा वृद्धाश्रमको सहयोगार्थ नाटक जयगान मञ्चन गरेको थियो ।

समूहका अध्यक्ष आशीष अधिकारी, लेखक कृष्ण उदासी र रंगकर्मी हेमन्त हितैसी लगायतले पोखरा वृद्धाश्रम सीतापाइलाका अध्यक्ष टीकाबहादुर भण्डारी र सहसचिव बुद्धिप्रसाद पौडेललाई १० हजार रुपैयाँ प्रदान गरे । समूहले लेखक, भेषभूषा, शृङ्गार, व्यवस्थापक, संगीत संयोजक, स्वंसेवक र कलाकारलाई पनि पारिश्रमिक दिएको छ ।

पोखरा वृद्धाश्रमका अध्यक्ष भण्डारीले सामाजिक चेतनासहित नाटक मञ्चन गरी वृद्धाश्रमलाई सघाउने सराहनीय भएको बताए । नाटककार कृष्ण उदासीले ओथेलोले मञ्चन गरेको जयगान पोखरामा पहिलो नाटक मञ्चन भएको प्रयोगवादी नाटक भएको बताए । उनले भने, जयगान जति जटिल छ त्यति सहज तरिकाबाट निर्देशन र अभिनय गरेर यो टिमले जति न्याय दियो, त्यसबाट म सन्तुष्ट छु ।

ओथेलोका अध्यक्ष आशीष अधिकारी नेपाल नाटकलाई व्यवसायिक र स्तरीय बनाउन समूह प्रतिवद्ध रहेको बताए । उनले समाजलाई रंगमञ्चसँग जोडेर नेपाली नाटको श्रीवृद्धिमा लाग्ने संस्थाको उद्देश्य भएको बताए । अधिकारीले जयगान निर्देशनसहित अभिनयसमेत गरेका थिए ।
ओथेलोका सचिव सबु पाठक कलाकारलाई रंगमञ्चले नै बचाउन सक्ने परिस्थिति निर्माण हुँदै गएको बताइन् । दशर्कबाट पाएको प्रतिक्रियाले उत्साहित भएको उल्लेख गर्दै उनले रंगमञ्चमा समूह निरन्तर क्रियाशिल रहने प्रतिवद्धतासमेत गरिन् ।