प्राविधिक शिक्षा गाउँमै दिन महायज्ञ

विद्यालयमा प्राविधिक शिक्षा दिने उद्देश्यले स्याङ्जाको क्याक्मीस्थित पीताम्बर माविले महायज्ञ आयोजना गर्ने भएको छ ।

२००९ सालमा स्थापना भएको उक्त विद्यालयले हाल उच्च माविमा शिक्षा संकायमात्र पढाइ गर्दै आएकोमा गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिने र बसाइँसराइँ र रोजगारीको लागि सहयोग पुर्‍याउँने भन्दै महायज्ञ आयोजना गरिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा विद्यालयका प्रधानध्यापक शालिकराम लम्सालले प्राविधिक शिक्षाको व्यवस्था नहँदा गाउँमा युवाहरु अट्न नसक्ने र फलस्वरुप बसाइँसराइँ बढ्दै जाने भएकाले आर्थिक स्रोतको व्यवस्थापन गरी प्राविधिक शिक्षा दिन आवश्यक भएको बताए ।

महायज्ञबाट करिब ६ करोड आर्थिक सहयोग संकलन हुने आयोजकले लक्ष्य लिएको छ । स्याङ्जाको हरिनास ६ मा पर्ने पीताम्बर माविमा हाल करिब ५ सय विद्यार्थी अध्ययनरत छन् ।

महायज्ञबाट उठेको रकमबाट प्राविधिक शिक्षालयसँंगै इ—लाइब्रेरी, आइसिटी कक्ष, विज्ञान प्रयोगशाला, आवासीय सुविधासहितको छात्रबास,आधुनिक शौचालय निर्माण लगायतका योजना रहेको आयोजनको भनाइ छ ।

माघ १० देखि ७ दिनसम्म सञ्चालन हुने महायज्ञमा सहभागी हुन विद्यालयले सबैलाई अनुरोध गरेको छ । महायज्ञमा दिग्दर्शन वाचन शिरोमणि पण्डित दीपक सापकोटाको संगीतमय प्रवचन रहनेछ । महायज्ञमा १ रुपैयाँदेखि ५ लाखभन्दा माथिको आर्थिक सहयोग गर्ने महानुभाव तथा दानवीरलाई विभिन्न खालको सम्मान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।