पृथ्वीनारायण क्याम्पसलाई क्युएए प्रमाणपत्र

पोखराको पृथ्वीनारायण क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने क्युएए प्रमाणपत्र पाएको छ । क्याम्पसले आयोगले तोेकेका मापदण्ड पूरा गरी गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको हो ।

अब पृथ्वीनारायण र जनप्रिय गरी क्युएए पाउने पोखरामा २ क्याम्पस भएका छन् । देशभरिका ३० वटा सरकारी, सामुदायिक तथा निजी स्तरका उच्च शैक्षिक संस्थाले पनि यो प्रमाणपत्र प्राप्त गरेका छन् ।

अब पृनाका विद्यार्थीले प्राप्त गरेका प्रमाणपत्रले देशभित्र र देशबाहिर मान्यता पाउनेछन् । पृना क्याम्पसले प्रयोग गर्ने लेटर हेड र चारित्रिक प्रमाणपत्रमा क्युएए प्राप्त लोगो रहनेछ । क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट थप अनुदानसमेत पाउनेछ ।

हालै आयोजित कार्यक्रममा पृनालाई क्युएए प्रमाणपत्र प्रदान गरिएको हो । पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले ज्ञानबिनाको व्यक्ति र गुणबिनाको संस्था काम नलाग्ने हुनाले क्याम्पसलाई जसरी पनि क्युएए प्राप्त गराउन लागिपरेको सुनाए ।