पोखरा थियटरमा आजदेखि सरुभक्तको निरमाया

पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन हुने नाटक निरमाया मञ्चनको तयारी पूरा भएको छ । पोखरा थिएटरले बिहिबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार नाटक माघ १२ गतेसम्म नियमित मञ्चन हुनेछ । झण्डै २ घण्टाको अवधिको यस नाटकले नाट्यप्रेमी दर्शकको माया पाउनेमा नाटक युनिट विश्वस्त छन् ।

नाटकका लेखक सरुभक्त श्रेष्ठले आपूले झण्डै ३० वर्षअघि लेखेको कथा भए पनि अहिलेको समाजसँग दुरुस्ते मिल्ने बताए । ‘गरिब, शोषित, दलित, यौन पीडित यही समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्रायले नाटक निरमाया सिर्जना भएको हो’, उनले भने । पोखरामा थिएटर सञ्चालन हुनु र नियमित रुपमा नाटक हुने परम्पराले नाट्यप्रेमीलाई उत्साहित बनाएको उनले बताए ।

नाटकका निर्देशक परिवर्तन कार्कीले नाटकलाई परिपक्व बनाउन निकै मेहनत गरेको बताए । यसअगाडि बितेका कुरा नाटक निर्देशन गरी निर्देशकको परिचय बनाएका उनले निरमाया नाटकले आफ्नो परिचयमा परिपक्वता थप्ने विश्वास व्यक्त गरे । ‘आज पनि महिलाको अवस्था उस्तै छ, दलितको अवस्था उस्तै छ, आर्थिक असमानता विषम छ’, उनले भने । निरमाया हेरिसकेपछि समाजमा रहेका यस्ता विषम असमानतामा गम्भीर चिन्तन गर्ने प्ररेणा उत्पन्न हुने उनले बताए ।

नाटकका कलाकार तथा ड्रामाटर्ज प्रकाश घिमिरेले आफ्नै ठाउँमा नाटक घर बन्नु र अभिनय गर्न पाउनु कलाकारको लागि अहोभाग्य भएको बताए । नयाँ तथा पुराना कलाकारको मिश्रणले नाटकलाई उत्कृष्ट बनाएको दावी उनले गरे । ‘क्रान्तिहरु किन हुँदा रहेछन् भन्ने यर्थाथलाई नाटकले उजागर गरेको छ’, घिमिरेले भने ।

पोखरा थियटरका संरक्षक शंकरनाथ कोइरालाले नाटकघर सबैको साझा भएको भन्दै यसको संरक्षण प्रर्वद्धन सबै मिलेर गर्नुपर्ने बताए ।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेशबाबु तिम्सिना, निश्चल विमल, सूर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्दरमण पराजुली, सन्दीप पाण्डे, ईश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना लगायतको अभिनय रहनेछ ।

गन्र्धव नाटकघरमा मञ्चन हुने यो २३ औँ नाटक हो । नाटह हरेक दिन साँझ पौने ५ बजे मञ्चन हुनेछ भने शनिबार तथा बिदाका दिनमा अतिरिक्त सोसमेत देखाइनेछ । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्नेछ ।