गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भण्डारण क्षमता बढाउनुपर्नेमा बिहीबार लेखनाथमा आयोजित कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
नेपाल आयल निगमको ४९ औं बाािर्षकोत्सवको अवसरमा निगमको गगनगौंडा डिपोमा आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले गण्डकी प्रदेशमा सहज आपूर्तिका लागि तनहुँ, गोरखा लगायतका क्षेत्रमा भण्डारण केन्द्र निर्माणका लागि प्रस्ताव गरिएको उल्लेख गरे ।
उनले पेट्रोलियम पदार्थको आपूर्तिको क्षेत्र संवेदनशिल भएको उल्लेख गर्दै, यो क्षेत्रमा बन्द हड्ताल नगर्नसमेत सुझाव दिए । निगम गगनगौडा डिपो प्रमुख विनी श्रेष्ठले व्यवसायीसँगको सहकार्यले पेट्रोलियम पदार्थको बजार व्यवस्थापन सहज भएको बताईन् । उनले आफू कार्यालय प्रमुख भएर आएदेखी निगमले दिएको नोक्सानी परिमाणलाई कम गराउन अहम भूमिका खेलेको दाबी गरिन् ।
कार्यक्रममा गण्डकी धौलागिरी पेट्रोलिय डिलर्स एशोसियशनका अध्यक्ष राजन गोगंजुले गगनगौडा इन्धन डिपोमा भौतिक पूर्वाधारको सुधार गर्नुपर्नेमा जोड दिए । उनले डिपो र डिलर एशोसियशनका विच सहकार्य भएकाले ट्यांकरहरुमा लकिङ सिस्टम सफल भएको उल्लेख गरे ।
डिपो प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी ट्यांकर व्यवसायी समितिका अध्यक्ष सुरेन्द्ररमण पराजुली, उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि मिलन तिवारी, डिपोका कर्मचारी नवराज पोखरेल र सरिता बराल लगायतले बोलेका थिए ।






