घुुस भागबण्डा नमिल्दा वनभोजमै कुटाकुट

 बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका कर्मचारीबीच घुसको भागबण्डा नमिलेको बिषय वनभोजमा प्रकट भएको छ । घटना २०७५ पुस २१ शनिबारको हो ।

सहीदपार्क गोकर्णमा बैदेशिक रोजगार विभागका कर्मचारीहरुको वनभोज थियो । वनभोजमा मदिरा सेवन गर्दै गएपछि नायबसुब्बा रामप्रसाद पोखरेलले कम्प्युटरका कर्मचारीमाथि घुस भागबण्डाको बिषयमा निहुँ खोज्दै हातपात नै गरेका थिए ।

पिकनिकमा सहभागी एक कर्मचारीका अनुसार नासु पोखरेलले मदिराको मात चढ्दै गएपछि कम्युटरका कर्मचारीलाई ‘मैले माथिसम्म दिनुपर्छ, मन्त्रीका पीएहरुलाई चित्त बुझाउनुपर्छ, एक्लै खाने’ भन्दै हात छाडेका थिए । त्यसपछि नासुहरु धर्म डाँगी, भरत घिमिरे, राजकुमार पोखरेलहरु पनि कुटाकुटमा ओर्लिए । शाखा अधिकृत प्रकाश कट्टेल र कुशल बराल समेत कुटाकुट हुँदा त्यहीँ थिए ।

कर्मचारीबीच कुटाकुट भएको बिषय मिलाउनुको साटो वनभोजमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टका निजी सचिव प्रकाश पन्थी भने रमिता हेरेर बसेका थिए । उक्त वनभोजमा काठमाडौं कार्यालयका उपसचिव देवेन्द्र कार्की, महेश जोशी र विभागका भोला गुरागाई पनि सहभागी थिए ।


उक्त वनभोजमा घुसको भागबण्डाको बिषय निकालेर कुटाकुट गर्ने कर्मचारीलाई कारबाहीस्वरुप मन्त्रालयमा तान्ने भनिए पनि मन्त्रीका निजी सचिव पन्थीले नै रोकेका छन् । मन्त्रीसम्म कुटाकुटको बिषय पुगेको छैन । काठमाडौं कार्यालयका कर्मचारीले हातपातमा उत्रिनेहरुमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।