गाउँपालिकाले जन्मिएका छोरीको बैंक खाता खोलिदिने

 इच्छाकामना गाउँपालिकाले गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । 

गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

अभिभावकको अवस्था कमजोर रहेमा दाता समेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिकाभित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ । 

सो गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको उनले बताए । सो गाउँपालिकामा जनसंख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला रहेका छन् ।

हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीम समेत दिंदै आएको छ ।