एक महिनामा ८ वटा बाल विवाह रोकियो

 दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बाल विवाह रोकिएको छ । 

वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महिनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बाल विवाह रोकिएका छन् । भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो । 

वडामा रहेको स्वास्थ्य चौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्न जुटेको छ । बालविवाह हुने तयारीबारे जानकारी हुने बित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बाल विवाहबाट हुने असर, बाल विवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकाइएको थियो । 

केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् भने उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले बताए ।