जामुनेडाँडामा बागबानी पढाउन महायज्ञ

स्याङ्जा बिरुवा गाउँपालिका २ मोचाबारीमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ ।

विसं २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक विद्यालयले आगामी माघ ३ देखि महायज्ञ सुरु गर्ने जनाएको छ । विद्यालयमा प्राविधिक शिक्षा (वागवानी विज्ञान) सञ्चालनार्थ ज्ञान महायज्ञ आयोजना गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्ने महायज्ञमा २ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक तिलबहादुर गुरुङले जानकारी दिए ।

गुरुङले जनजातिको बाहुल्यता रहेको यस क्षेत्रमा मातृभाषाको उत्थान गर्न मातृभाषा तथा प्राविधिक शिक्षा (वागवाण्ी विज्ञान) सञ्चालनार्थ ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी दिए ।


विद्यालयका प्राध्यानाध्यापक रामचन्द्र शर्माले विरुवा गाउँपालिका क्षेत्र कृषिको प्रचुर सम्भावना रहेकाले कृषि शिक्षालाई प्राथमिकता दिन यज्ञ गरिएको जनाए । सुन्तला खेतीको प्रख्यात मानिने क्षेत्रमा आधुनिक किसिमको कृषि शिक्षा प्रदान गर्न सके भविष्यमा मनोवैज्ञाानि प्रभाव पार्न सक्नेमा जोड दिए ।

शर्माले मातृभाषा, स्वधर्म तथा संस्कृति, रीतिरिवाज प्रति आस्था दृढ बनाउन, धार्मिक तथा सांस्कृतिक उत्सवलाई उत्साहपूर्वक मनाउन तथा नयाँ पुस्तालाई ऐतिहासिक महत्व बुझाउन, लोभ, भय तथा आदिका भरमा चलेको विधर्मीको षडयन्त्रबाट गाउँ, टोल, छरछिमेकलाई सचेत गराउनसमेत ज्ञान महायज्ञ उपयोगी हुने बताए ।