बिरामीलाई म्याद गुज्रेको स्लाइन

सर्लाही सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ ।

पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको आर एल स्लाइन पानी दिएको भेटिएको छ । सोमबार बिहान उपचार गराउन अस्पताल पुगेकी उषालगायत अन्य तीन जनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी चढाइरहेको भेटिएको हो ।

बिरामी परेपछि घरका व्यक्तिले अस्पताल पु¥याएको र पछि आफू जाँदा स्लाइन पानी म्याद गुज्रेको फेला परेको उनका छोरा साजन चौधरीले बताए ।तीन महीनापहिले नै म्याद गुज्रेका स्लाइन पानी चढाएको देखेपछि आफूले त्यसलाई तुरुन्त रोक्न लगाएको उनले बताए । अस्पतालजस्तो संवेदनशील स्थानमा लापरवाही गर्नेलाई कानूनअनुसार कार्बाही हुनुपर्ने उनले माग गरे ।

बिरामीको चाप धैरे भएकाले सबैलाई एकैचोटि उपचार गर्न खोज्दा हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको अस्पतालका सुपरिटेण्डेण्ट वीरेन्द्रकुमार मण्डलले बताए ।सो लापरवाही गर्नेलाई कारवाही गरिने उनले प्रतिबद्धता जनाए ।