पोखरा २५ मा मेलमिलाप केन्द्र सुरु

पोखरा २५ मा महानगरको न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरेको छ ।

पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गर्दै वडा तहका विवाद वडामै समाधान गर्न सके सद्भाव कायम हुने बताइन् ।

उनले भनिन्,‘विवादका पक्ष र विपक्ष दुवैलाई भावनात्मक रुपमा मिलाउन सकेमात्रै समाजमा सद्भाव कायम हुन्छ, त्यसैले मेलमिलापमा जोड दिइएको हो ।’ संयोजक गुरुङले ११ वटा विवादमा मेलमिलाप र १३ वटामा फैसला गर्न पाउने कानुनी व्यवस्था रहेको बताउँदै मेलमिलापमार्फत् विवाद समाधानमा जोड दिनुपर्ने दिइन् ।

उनले वडामा हुने विवाद सम्बन्धित ठाउँकै व्यक्तिमार्फत् मिलाउन सहज हुने भएकाले मेलमिलाप केन्द्र स्थापनामा जोड दिएको बताइन् । न्यायिक समिति सदस्य पार्वती कार्कीले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् ।


पोखरा २५ मा न्यायिक समितिले १३ जना मेलमिलापकर्ता सूचीकृत गरेको छ । विवादका पक्ष र विपक्षको सम्बन्धलाई दिगो बनाउन मद्दत गर्ने कार्कीले बताइन् । पोखरा २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले विवाद समाधानमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् ।

वडाध्यक्ष शोभाखर तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता खगेन्द्रबहादुर थापा, पूर्व हेमजा गाविसका उपाध्यक्ष धर्मराज बास्तोला, महानगरका कानुन शाखाका कानुन अधिकृत राममणि अधिकारी लगायलते वडाका विवाद समाधान गर्न केन्द्र स्थापनाले सहज हुने बताए । न्यायिक समितिले यसअघि महानगरका ७, १३, ३०, २१ मा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।