डाक्टर र पत्रकारलाई हातपात गर्ने डन बद्री

- अकुत कमिसन र नाफा बन्द हुने भएपछि चिकित्सककै होस हरायो

सहकर्मी डाक्टरलाई केही दिनअघि हातपात गरेका डा. बद्रि पौडेलले सोमबार साँझ पत्रकारलाई पनि दुव्र्यवहार र हातपात गरेका छन् । पृथ्वीचोकको चरक मेमोरियल अस्पतालमा कार्यरत डा. पौडेलले फेवा टेलिभिजनका स्टेसन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनारमाथि दुव्र्यवहार र हातपात गरेका हुन् ।

केही दिनअघि डा. बद्रि लगायतले डा. ऋषिराम ढकाललाई अस्पतालमै हातपात गरेका थिए । सोही विषयमा रोपोर्टिङ गर्न पुगेका अधिकारी र सुनारमाथि डा. पौडेलले अभद्र व्यवहार गरेका हुन् । विनम्र तवरले घटनाबारे सोधिरहेका अधिकारीलाई डा. पौडेलले भाइ बढ्ता होइन भन्दै पिठ्युमा धकेलेका थिए ।

चरक अस्पतालमाका निवर्तमान अध्यक्षसमेत रहेका वद्रिको व्यवहार सभ्य नागरिकबाट अपेक्षा नगरिने खालको भएको नेपाल चिकित्सक संघ गण्डकी अध्यक्ष डा. निर्मल लामिछाने बताउँछन् । उनले यसबारे डा. बद्रिलाई ध्यानाकर्षण गराउने बताए ।

अस्पतालका एक्सरे, प्रयोगशाला, फार्मेसी, फिजियोथेरापी अहिले अस्पतालले नभएर अरुले नै चलाइरहेका छन् । नागढुंगामा नयाँ भवन बनेपछि अस्पतालले नै यी विभाग चलाउने विषयमा विवाद भएको हो । एक्सरे, प्रयोगशाला, फार्मेसी, फिजियोथेरापी व्यक्तिले चलाउने त्यहाँबाट आउने मोटो कमिसन रोकिने भएपछि डा. बद्रि पहिलेदेखि नै यसको विपक्षमा थिए । यस्ता केही विभागमा डा. वद्रीको अप्रत्यक्ष लगानीसमेत भएको स्रोत बताउँछ । प्रशस्त नाफा हुने फार्मेसी, ल्याब आदिबाट कमिसन र नाफा दुवै कमाइरहेका बद्रीसँग यही विषयमा विवाद भएपछि हालै भएको साधारणसभाबाट अल्पमतमा परेर अध्यक्षबाट बाहिरिएका थिए ।

मंगलबार विज्ञप्ति निकालेर प्रेस संगठन नेपाल कास्की शाखाले घटनाको भत्र्सना गरेको छ । प्रेस संगठनका कास्कीका नेताद्वय माधव बराल र सन्देश श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको अभद्र व्यवहार सह्य नभएको र प्रशासनले दोषीलाई कानुन अनुसार कारवाही गरी निर्भिकताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन माग गरिएको छ ।