स्वर्गद्वारीका मेयरलाई विप्लवको जनकारवाही !

नेत्र बिक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपाले प्युठान जिल्लाकै सबैभन्दा भ्रष्ट मेयर भएको दाबी गर्दै स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई नेकपाले कालोमोसो लगाएको छ ।

आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको र जनतामाथि अनावश्यक कर थोपरेको आरोप उनीमाथि लगाइएको छ ।

संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियमविपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारबाही स्वरुप कालोमोसो दलेको बताइएको छ ।

मंगलबार नेकपा प्युठानका सेक्रेटरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा रोकायमाथि गरिएको उक्त कारबाही पहिलो चरण भएको उल्लेख छ ।