बोर्डिङको नाम र परिचयपत्र नेपालीमा

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलब्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे बताए ।

“अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल देखियो”, उनले भने, “त्यसैले यस विषयमा अभिभावकलाई सहज गराउन यस्तो व्यवस्था गराउन लागिएको हो ।

” शिक्षा अधिकारी कोइरालाले विद्यालयले अङ्ग्रेजीमा पनि लेख्न वा नलेख्नका लागि भने स्वतन्त्र छाडिने जानकारी दिए । यसअघि सरकारले अङ्ग्रेजी नाम भएका कलेजका नाम नेपाली भाषा, मौलिक संस्कृति झल्कने खालको राख्न निर्देशन दिए पनि कलेजले उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन गरेका छैनन् ।

महानगरभित्र ६ सय ४० वटा संस्थागत विद्यालय छन् । उनले शिक्षा समितिबाट निर्णय गरेपछि सोही अनुसार नेपाली भाषालाई प्रभावकारी कार्यान्वयन गराउनका लागि निजी तथा तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (एनप्याब्सन)लाई निर्देशन दिइने जानकारी गराए ।

यस्तै महानगरले माघ महीनाभित्रमा सामुदायिक विद्यालयका शिक्षकलाई तलब उपलव्ध गराइने भएको छ । महानगरका शिक्षकले मङ्सिरयता तलब नपाएकाले शिक्षकको खातामा नै तलब जाने गरी काम भइरहेको बताए । महानगरमा ९१ सामुदायिक विद्यालयमा एक हजार ८३० शिक्षक छन् ।

यसैगरी विद्यालयको आर्थिक पारदर्शितालाई प्रभावकारी बनाउन र विद्यालय भाडामा दिइ आम्दानी गर्ने विद्यालयलाई प्राप्त रकमको पादर्शिताका साथ उपलब्धिमूलक कार्य गर्नका लागि शिक्षा समितिमार्फत कार्यविधि तयार गर्न थालिएको छ ।