नवौं पोखरा महोत्सवमा सुरक्षा व्यवस्था चुस्त बनाइने भएको छ । कास्कीका सम्पूर्ण सुरक्षा निकायले महोत्सवलाई साथ दिने जनाएका छन् । युनाइटेड क्लबको आयोजनामा पुसको २७ देखि माघ ८ गतेसम्म अमरसिंह चौरमा महोत्सव हुँदै छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको भेलामा उपस्थित कास्कीका सुरक्षा निकायहरुले पोखरा महोत्सवलाई भव्य र सुरक्षित रुपमा सम्पन्न गर्न आयोजकसँग सहकार्य गर्ने जनाएका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले महोत्सवलाई सुरक्षित तवरले सञ्चालन गर्नका लागि कास्की प्रशासनले सहयोग गर्ने बताए । सिद्धिबक्स गण फूलबारी ब्यारेकका प्रमुख सेनानी मदन थापाले अन्य सुरक्षा निकायसँग समन्वय गरी महोत्सवको सुरक्षामा नेपाली सेनाको तर्फबाट समेत सहयोग हुने बताए ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले महोत्सवमा कास्कीका सम्पूर्ण सुरक्षा निकायले समन्वय गरी पूर्ण रुपमा सुरक्षित बनाउने बताए । सुरक्षा निकायबाट सादा पोशाकका जवान परिचालन गरी सुरक्षाको प्रत्याभूति दिलाउने उनको भनाइ छ ।
सशस्त्र प्रहरी बल कालिका गणका गणपति मुरारी बस्नेतले सशस्त्र प्रहरीले पनि विगतका महोत्सवमा जस्तै यो पटक पनि सुरक्षाका लागि सहयोग गर्ने बताए । युनाइटेड क्लबका अध्यक्ष तथा नवौं पोखरा महोत्सव मूल आयोजक समिति संयोजक लालकाजी गुरुङले पोखरा महोत्सव युनाइटेड क्लबको मात्र सबै पोखरेलीको भएकाले सबैको सहयोगमा महोत्सव भव्य हुने अपेक्षा गरे ।
कार्यक्रममा विद्युतीय सुरक्षा उपसमिति संयोजक तथा स्काइलिंक प्रालिका सञ्चालक राजेन्द्र तिवारी, निजी सुरक्षा कम्पनीको जिम्मा पाएको जेट सेक्युरिटी प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्णप्रसाद सुवेदी, ट्राफिक व्यवस्थापन उपसमिति संयोजक रामबहादुर थापामगर, स्वयंसेवक परिचालन उपससमिति संयोजक विष्णुकुमार गुरुङ, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक सूर्य बानिया, क्लबका प्रथम उपाध्यक्ष तथा कलाकार व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले महोत्सव आयोजनाका विविध पक्षबारे चर्चा गरेका थिए ।






