निर्मला प्रकरणको अनुसन्धान घरपरिवारबाटै हुनु पर्ने माग

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणको गुथ्थी अझै सुल्झिएको छैन ।

घटना भएको लामो समय बितिसक्दा पनि प्रहरीले अपराधी सार्वजनिक गर्न सकिरहेको छैन । यसबीचमा सरकार र प्रहरी संगठनको चर्काे आलोचना भईरहेको छ । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलालाई सडकमा जम्मा हुने भिडले नभई सरकारले नै न्याय दिने बताएका थिए । यसैबीच निर्मला प्रकरणको अनुसन्धान घरपरिवारबाटै हुनु पर्ने माग गरिएको छ ।

कञ्चनपुरका अधिकारकर्मीले निर्मलाकै घर परिवारबाट अनुसन्धान हुनु पर्ने माग गरेका हुन् । कञ्चनपुर पुगेका दबाबमूलक संघर्ष समितिका पदाधिकारी एवं अधिकारकर्मीले निर्मलाकै घरपरिवार र आफन्तको पनि अनुसन्धान गर्नुपर्ने माग राखेका हुन् ।

बलात्कारपछि हत्याजस्ता जघन्य प्रकृतिका घटनाहरू नजिकका मान्छे र आफन्तबाटै पनि हुने भएकाले निर्मलाको हत्याबारे पनि घरपरिवार तथा आफन्तबाटै अनुसन्धान गर्नुपर्ने अधिकारकर्मीले बताएका हुन् । शंका लागेका सबै पक्ष र व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरे पनि केही उपलब्धि हासिल नभएको कारण घरपरिवार, आफन्त र शंकास्पद सबै व्यक्तिमाथि अनुसन्धान सुरु गर्नुपर्ने माग राखिएको हो ।

यसअघि दबाबमूलक संघर्ष समितिले बम दिदीबहिनीमाथि बढी शंका गरेको थियो । तर, अहिले सो समितिले बम दिदीबहिनीमाथि शंका कम हुँदै गएको बताउँदै आएको छ । यता आफनो छोरीको हत्यारा सार्वजनिक गर्न दबाब दिँदै उनका आमा बुवा निरन्तर धर्नामा रहेका छन् ।