लागुऔषध र नगदसहित पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।


वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बा ७७ प ९९०६ र बा ९२ प १८२० नं का स्कुटर चेकजाँचका क्रममा १० किलोग्राम ब्राउनसुगर, १० ग्राम चरेश, दुई थान चक्कु र लागुऔषध सेवन गर्न प्रयोग हुने विभिन्न सामग्रीसमेत फेला पारिएको छ ।


पक्राउ परेकासँग प्रहरीले रु चार लाख ७३ हजार १०० नेपाली रुपैँया, एक हजार ४०० भारतीय रुपैया, २० अमेरिकन डलर, नेपाल बैँक लिमिटेडको नाममा रहेको रु एक लाख नगदको चेक र डिजिटल क्यामरा एक थानसमेत बरामद गरेको छ ।

पक्राउ परेकाको आवश्यक अनुसन्धान भइरहेको प्रभागले  जनाएको छ । रासस