कोमागानेका उपमेयर र विद्यार्थीलाई पोखरामा स्वागत

पोखरा भ्रमणमा आएको जापानको कोमागाने सहरका उपप्रमुख र विद्यार्थीको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।

कोमागाने उपप्रमुख मासारु होरी उचीको नेतृत्वमा आएको १६ सदस्यीय टोलीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् । टोलीमा उपप्रमुखसहित विद्यार्थी र शिक्षक छन् ।

उपप्रमुख गुरुङले होरीउचीलाई पोखराको चिनोको रुपमा भाग्रा लगाइदिइन् । गुरुङले कोमागाने पोखराबीच भगिनी सम्बन्ध स्थापना भएको १८ वर्ष बितेको बताउँदै उपप्रमुख र विद्यार्थीसहितको भ्रमणले सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिन् ।

भ्रमणले २ सहरको सांस्कृतिक र शैक्षिक विकासबारे अनुभव आदानप्रदानमा सहयोग पुग्ने बताइन् । उनले कोमागानेका विद्यार्थीमात्रै नभएर यहाँका विद्यार्थी पनि जाने अवस्था भए विकास, प्रविधि र शिक्षाबारे सिक्ने अवर मिल्ने बताइन् । कोमागाने सहरका उपप्रमुख मासारु होरीउचीले आफू पहिलो पटक नेपाल आएको बताउँदै भ्रमणले २ सहरको सम्बन्धलाई अझै बलियो बनाउँदै सहयोग आदानप्रदानमा सहजता हुने बताए ।

पोखरा कोमागाने नागरिक मैत्री एसोसियसनका अध्यक्ष शारदामोहन कापलेले जापानबाट आएका विद्यार्थीलाई ३ दिनसम्म होमस्टेमा राखिने बताए ।