नेपालले करीब २ करोड युनिट विद्युत् बिक्री

 गएको वैशाखयता नेपालले करीब २ करोड किलोवाट आवर (युनिट) विद्युत् भारत निर्यात गरेको छ ।

अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत् प्राधिकरणले भारतका विद्युत् व्यापारीलाई कुल १ करोड ८८ लाख ७४ हजार युनिट विद्युत् विक्री गरेको हो । प्रतियुनिट ५ रुपैयाँ ५५ पैसाका दरले विद्युत् विक्री गरिएको हो ।

विद्युत् विक्रीबाट कुल रू. १० करोड ४७ लाख ५० हजार ७ सय आम्दानी भएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपालमा विद्युत्को खपत अत्यन्तै न्यून हुने रातको समयको विद्युत् निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार प्रमुख प्रबल अधिकारीले जानकारी दिए ।

‘राति १०–११ बजेपछि हामीकहाँ विद्युत् खपत एकदमै कम हुन्छ भने भारतमा राति पनि चल्ने उद्योगको विद्युत् माग उच्च हुन्छ,’ उनले भने, ‘त्यसैले उताबाट माग भएमा हामीलाई बढी हुने विद्युत् हामीले खेर जान दिनु साटो विक्री गर्ने गरेका छौं ।’