विदेशी टिभीमा विज्ञापन अब हेर्नै नपर्ने

सरकारले विज्ञापन प्रकाशन तथा प्रसारण कार्यलाई नियमन गर्न लागेको छ ।विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले डबिङ गरी प्रसारण गर्न नपाइने, विज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असर र अपनाउनुपर्ने सचेतनासमेत उल्लेख गर्नुपर्नेलगायतको व्यवस्थासहित सरकारले कानुन बनाउन लागेको हो । नयाँ पत्रिकामा खबर छ ।

 विदेशी टिभी  च्यानल प्रसारणमा कडाइ
सरकारले तयार गरेको विधेयकअनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।त्यस्तै विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ ।

विज्ञापन बोर्डले निर्धारण गरेको मापदण्डका आधारमा कुनै धार्मिक, सांस्कृतिक वापुरातात्विक  स्थल, शैक्षिक वा स्वास्थ्य संस्था वा त्यस्तो स्थल वा संस्थाबाट देखिने निश्चित दूरीभित्र विज्ञापन निषेधित क्षेत्र स्थानीय तहले तोक्न सक्नेछ ।

मञ्जुरीविना एसएमएस गर्न नहुने
अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउन नपाइने भएको छ । विज्ञापन नियमनसम्बन्धी सरकारले तयार गरेको कानुनको मस्यौदाको दफा १० अनुसार सम्बन्धित व्यक्तिको मञ्जुरीविना कसैको इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने, तर सरकारले कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने गर्न सक्ने व्यवस्था गरिएको छ ।