रुपा मेलाका लागि विभिन्न समिति

रुपाको विकासका निमित्त रुपा मेला भन्ने नाराका साथ ध्रुव तारा क्लब भिरचोकले यसपालि गर्न लागेको रुपा मेलाका लागि विभिन्न समिति गठन गरिएको छ । क्लबका अध्यक्ष प्रेमकुमार खड्काको संयोजकत्वमा महोत्सव आयोजक समिति र नारायण गुरुङको संयोजकत्वमा सल्लाहकार समिति गठन बनेका छन् ।


क्लबले १९ औं वार्षिकोत्सव माघे संक्रान्तिको अवसरमा विविध कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । माघे संक्रान्ति मेलालाई व्यवस्थित र परिमार्जित गर्दै रुपा मेला २०७५ गर्न लागिएको हो । पुस २९ देखि माघ १ सम्म हुने मेलाको तयारी गर्न आम भेला र बैठक भइरहेका छन् ।


महोत्सवमा लोक दोहोरी, हास्य व्यंग्य, भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगी, प्रावि हाजिरीजवाफ प्रतियोगिता, झाँकी प्रदर्शनी, रस्साकस्सी, छेलो, ग्रामीण पदयात्रा, साइक्लिङ, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।


क्लबले विगतका महोत्सवबाट बचत भएको रकमले व्यवस्थित भवन, सभाहल, अतिथिगृह, सुविधा सम्पन्न शौचालय, व्यापारिक भवन, खेलमैदान जस्ता भौतिक संरचना निर्माण गरिसकेको छ ।