राष्ट्रिय महिला भलिबल पुस २५ बाट

न्यू डायमन्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ । यही पुस २५ गतेदेखि हुने उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा ३ विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब क्लबसहित न्यु डायमन्ड एकेडेमी, टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन ताइग्रेसले सहभागिता जनाउनेछन् ।

लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियागितामा सहभागी टोलीलाई विभिन्न ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा न्यु डायमन्ड र चितवन, ‘बी’ मा टप्स र पारामाउन्ट, ‘सी’ मा आर्मी र पुलिस तथा ‘डी’ मा एपिएफ र जावलाखेल परेका छन् ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख, उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख १ हजार प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् ।

पुस २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा आयोजना हुनेछ । प्रतियोगिता सञ्चालन गर्न नेपाल भलिबल संघले १५ हजार सहयोग गर्ने सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले बताए ।