चन्दा उठाएको आरोपमा क्रान्तिकारी कास्की अध्यक्ष काजी पक्राउ

कास्कीका विभिन्न व्यक्ति र संघ, संस्थासँग चन्दा असुली गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ पक्राउ परेका छन् ।
पोखराको अमरसिंहचोकबाट उनलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएपी रवीन्द्रमान गुरुङले पुष्टि गरे ।


उनलाई ८० हजारभन्दा बढी चन्दा तथा असुली रसिदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । काजीलाई कहाँ राखिएको छ भन्ने प्रहरीले जानकारी दिएको छैन ।


यता, अखिल क्रान्तिकारी कास्कीले बिहीबार राति काजीलाई पक्राउ गरिएको जनाउँदै यथाशीघ्र रिहाइ गर्न माग गरेको छ । क्रान्तिकारी कास्की उपाध्यक्ष आस्था नेपालीले शुक्रबार विज्ञप्ति निकालेर काजीमाथि झुठो मुद्दा लगाइएको दाबी गर्दै मुद्दा फिर्ता गरी रिहा नगरिए जस्तोसुकै कदम चाल्ने चेतावनी दिएकी छन् ।