पोखरा महोत्सवलाई सघाउने ३ सय संघ, संस्थाको प्रतिवद्धता

नवौ पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २७ देखिमाघको ८ गतेसम्म अमरसिंह चौरमा हुने महोत्सवमा पोखरा उपत्यकाभित्र रहेका ३ सय वढी संघ संस्थाले महोत्सवलाई झांकी र्यालीको माध्यामबाट सहयोग गर्ने भएका हुन ।


शुक्रबार आयोजित भेलामा उपस्थित संघ संस्थाका प्रतिनिधिले युनाइटेड क्लब महोत्सवकै माध्यामबाट सामाजिक काममा अगाडि बढिरहेकाले पोखरा महोत्सव युनाइटेड क्लबको मात्र नभई सबैको रहेको बताएका थिए ।


महोत्सवको माध्यामबाट समग्र गण्डकी प्रदेशमै सामाजिक काम गरिरहेको क्लबले गर्ने महोत्सवमा स्वतःस्फुर्त रुपमा सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ छ । महोत्सव झांकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सम्मरबहादुर श्रेष्ठले यो समग्र गण्डकी प्रदेशकै महोत्सव भएकाले यसले लिएको उद्देश्यलाई पोखरामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, टोल विकास संस्था र क्लबहरुले सहयोग गर्नुपर्ने बताए ।


संघ संस्था व्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सव विभिन्न संघसंस्थाको सहयोग र साथकै कारण यहाँसम्म आइपुगेको बताइन् । महिला समूह परिचालन उपसमिति संयोजक शान्ति शुवेदीले सबै महिला समूहलाई पोखरा महोत्सवलाई विगतमा जस्तै सहयोग गर्न आग्रह गरिन् ।


महोत्सवमा यस वर्ष झाकी प्रदर्शनतर्फ प्रथम हुनेलाई नगद १५ हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र र सातन्वना हुनेलाई नगद ३ हजार र प्रमाणपत्र प्रदान गरिने छ । भर्यालीमा सहभागी हुने टीममध्ये प्रथम हुनेलाई नगद ६ हजार, द्धितीय हुनेलाई नगद ४ हजार, तृतीय हुनेलाई नगद २० हजार र सान्त्वना हुनेलाई नगद १ हजार दिइने महोत्सव प्रचारप्रसार संयोजक शान्ताबहादुर थापाले बताए । महोत्सवमा सहभागी प्रत्येक झाकीलाई ५ हजार र र्यालीलाई नगद २ हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।


क्लबका अध्यक्ष तथा नवौं पोखरा महोत्सव मुल आयोजक समिति संयोजक लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष राजु श्रेष्ठले पनि बोलेका थिए ।