माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. बिरेन्द्र

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बिरेन्द्र प्रसाद महतो चयन भएका छन्।

शुक्रबार पोखरामा सम्पन्न बैंकको बीसौं वार्षिक साधारण सभा पछि बसेको सञ्चालक समितिको बैठकले महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सीको सभापतित्वमा उक्त साधारण सभा भएको थियो।

साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। साथै, साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ।

उक्त साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ। साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा. महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैँया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैँया संचित छ।

बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमास सम्ममा रु.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा रु. ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी रु. ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ।