अमेरिकाकी शक्तिशाली महिला बनिन्, न्यान्सी पेलोसी

अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्रेटिक पार्टीकी सांसद न्यान्सी पेलोसी अमेरिकी प्रतिनिधिसभाको सभामुख चुनिएकी छिन् ।

सभामुखमा चुनिएसँगै पेलोसी अमेरिकाकी सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि सभामुख पद शक्तिशाली मानिन्छ ।

अमेरिकामा हालै मात्र भएको मध्यावधि चुनावको तल्लो सदन अर्थात हाउस अफ् रिप्रजेन्टेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने भनेकै बेला भएको पेलोसीको जितलाई महत्वका साथ हेरिएको छ ।

सभामुखमा चुनिएपछि पेलोसीले भनेकी छिन्, ‘मलाई गर्व छ कि म यो संसदको सभामुखमा चुनिएकी छु । यो वर्ष अमेरिकी महिलालाई प्राप्त मताधिकारको १००औँ वर्षगाँठ समेत हो । सदनमा अहिले एक सयभन्दा बढी महिला सांसद छन् । यो संख्या अमेरिकी लोकतन्त्रको इतिहासमै सबैभन्दा धेरै हो ।’