बाबुको मृत्यु ,तीन बालकको बिचल्ली

 जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् । 

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् ।

धनबहादुरको २०७४ मंसिर १४ गते मृत्यु भएको हो भने उनका दुई श्रीमती सावित्री दमै विगत चार वर्षअघि र कान्छी श्रीमती देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी छाडेर गए । देवीतर्फका छोरा विवेक दमै र सावित्रीतर्फ जन्मिएका विशाल र विश्वास अहिले सहाराविहीन बनेका छन् । उनीहरू वृद्ध हजुरबुबा र हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् । 

जग्गा जमीनको नाममा सानो झुप्रोबाहेक केही नभएका उनीहरूको आम्दानीको स्रोत नहुँदा बिहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौधौ परेको हजुरआमा गौमती दमैले बताए ।

७० वर्षीय हजुबुबा केदार दमै गाउँमै मजदूरी पेशा गर्दै आएका छन् । ‘उनले काम पाउँदाको दिन र कमाइ भएको दिन तीन नातिले पेट भरिञ्जेल खान पाउँछन् नत्र खान समेत पाउने अवस्था छैन’, हजुरआमा गौमतीले रुँदै भनिन्, ‘मेरो परिवारमा बज्रपात नै पर्‍यो ।’ 

१५ वर्षीय विशाल कक्षा ९, १४ वर्षीय विवेक कक्षा ७ र १२ वर्षीय विश्वास कक्षा १ मा अध्ययन गर्दै आएका छन् । स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ ।

अहिलेसम्म कुनै निकायबाट पनि सहयोग पाइएको छैन, जाडो महिना छ, गतिलो कपडा समेत लगाउन नपाउँदा बालक झनै समस्यामा परेका छन् । 

अहिलेको निकै जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने ओच्छ्याने समेत नहुँदा निकै समस्यामा परेको गौमतीले बताइन् । ‘सहयोगको नाममा नगरपालिकाले रु १० हजार सहयोग गरको थियो । सोही पैसाले छोराको मृत्यु हुँदा लागेको ऋण तिरियो । अहिले परिवारमा निकै ठूलो आर्थिक समस्या परेको छ’, उनको दुखेसो छ । 

जिल्लामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सरुवा भएर आएपछि भने बालकलाई भगवान नै आए जस्तो भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले उक्त परिवारको राहतका लागि पहल गर्दै आएका छन् ।उक्त परिवारले गत असार महिनादेखि नै मासिक रु ६ हजारका दरले हालसम्म रु ४२ हजार बुझिसकेको छ ।

रकम आउन थालेपछि भने नातिलाई नियमितरूपमा दाल र भात खुवाउन पुगेको गौमतीले बताइन् । गतिलो लुगा लगाउन, ओढ्ने, ओच्छ्याउने कपडा किन्न नपुगे पनि बिहान बेलुकाको छाक टार्न र कलम कापी किन्नका लागि निर्वाह भएको गौमतीले बताइन् ।

‘बाबालिकालाई पढाउन कुनै संस्था वा निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर राम्रो मान्छे बन्ने थिए कि भन्ने आशा गरेका छौं’, जिल्ला प्रशासन कार्यालयमा आएकी गौमतीले भनिन्, ‘यही सहयोग पनि सिडियो सरले मिलाई दिनुभयो, हामीलाई भगवान आएझैँ भएको छ ।’ 

बालकहरूले आफूलाई जन्म दिने आमाबाबु नहुँदा निकै असहज भएको गुनासो गरेका छन् । ‘वृद्ध भएका हजुरबुबा हजुरआमा हुनुहुन्छ’, विवेकले भने, ‘उहाँहरू पनि बिरामी पर्दाको दिन भोकै सुत्नुपर्ने अवस्था छ ।’ कुनै सहयोगी निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर शिक्षक र डाक्टर बन्ने आफूहरूको इच्छा रहेको बालकहरूले बताए ।