बम्जन पक्राउ, आश्रममा छापा

नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’ बम्जन पक्राउ परेको स्रोतको दाबी छ ।

बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।

लिटल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएका ३ जनाको परिवारले सरकार र प्रहरी प्रशासनले खोजतलासमा गम्भीर नबनेको आरोप लगाएका छन् । शुक्रबार राजधानी आइपुगेका उनीहरुले पत्रकार सम्मेलनमार्फत सरकार र प्रहरी प्रशासनलाई गम्भीर बनिदिन आग्रह गरे ।

यसअघि ३० भदौमा रौतहटकी १८ वर्षीय गंगामाया तामाङले बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै आश्रममा हुने गरेका दुर्व्यवहारबारे बताएकी थिइन् ।

त्यसपछि बम्जनको आश्रमबाट ४ जना बेपत्ता भएको रहस्य सार्वजनिक भएको थियो । बम्जनको आश्रमबाट बेपत्ता भएका ४ जनामध्ये तीन जनाको परिवारले न्याय खोज्दै शुक्रबार राजधानी आइपुगेको छ । ।

बेपत्ता पारिएकी मकवानपुरका फूलमायाकी भाई विजय रुम्बा भन्छन्, ‘०७१ सालमा माघमा दिदीसँग अन्तिम पटक सम्पर्क भएको थियो । एकदिन एक्कासि भेट्न मन छ भने भोलि नै आउनुस् नत्र भेट हुँदैन भनेर फोन आयो । त्यतिवेला जान सम्भव थिएन । त्यसपछि पटकपटक सम्पर्क गर्न खोज्दा पनि भेट भएन ।’

‘त्यतिवेला आश्रममा छे, राम्रै होला भनेर खासै आवस्था गरिएन । तर, भूकम्पको बेला सिन्धुपाल्चोक तहसनहस भएको खबर आएपछि आत्तिएर बोडे गाउँ पुग्दा उनलाई भेट्न सकिएन’, उनले स्मरण गरे, ‘गुम्बामा जाँदा सुरुमा बुबालाई प्रवेश गर्न दिइएन । जासुस आए जस्तो व्यवहार गरिन्थ्यो ।’

‘गुम्बामा बुबाले घोडाको तबेलामा सरसफाइ गर्ने मान्छेलाई भेट्नु भएछ’, उनले थपे, ‘उनले ५ जना आश्रमबाट निस्किएर गएको सुनाएका थिए । त्यसपछि आफू घर गएको र अन्य कुरा थाहा नभएको बताएका छन् ।’

विजयका अनुसार यसअघि बम्जनमाथि बलात्कार आरोप लगाउने गंगामायासँगै बस्थिन्, उनकी दिदी । गंगामायाले आफूमाथि बलात्कार भएको बताएपछि उनी लगायत परिवारका अन्य सदस्य झल्यास्स भए ।