हावाबाट बिजुली उत्पादन

 मिक्लाजुङ-२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र सौर्य उर्जाको समन्वयबाट बिजुली निकालिएको छ ।

दुई वर्ष अघि परिक्षणका लागि राखिएको वायु उर्जाको टावरबाट गत पुष पहिलो सातादेखि विजुली उत्पादन सुरु भएको हो । टावरमा जडान गरिएको दुई वटा विन्डर (पङ्खा) मार्फत् २० किलोवाट विजुली उत्पादन भइरहेको उपभोक्ता समिति अध्यक्ष गंगा आङदेम्बेले बताए ।

उनका अनुसार वायु उर्जाबाट २० र सौर्य उर्जाबाट ५० गरी ७० किलोवाट विजुली उत्पादन भइरहेको छ । सौर्य उर्जाका लागि एक सय ५२ वटा सोलार प्यानल राखिएका छन् ।

वर्षौदेखि बिजुली बत्तिको सुविधा उपभोग गर्नबाट बञ्चित रहेका सप्तमी बजारबासी वायु-सौर्य उर्जा मार्फत् विजुली बाल्न पाएपछि खुसी भएका छन् ।

एसियाली विकास बैंकको चार करोड ५० लाख रुपैँया आर्थिक सहयोग तथा कूल लागतको दश प्रतिशत स्थानीयको लगानिमा वायु-सौर्य उर्जाबाट बिजुली निकालिएको हो ।

योजनाको कामको जिम्मा काठमाण्डौंको टपसन इनर्जी र मोरङको कृष्ण ग्रिल कम्पनी जेभी विराटनगरले पाएका थिए । योजनालाई वैकल्पिक उर्जा बिकास केन्द्र काठमाण्डौंले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

घर-घरमा बिजुली बाल्न पाएपछि सिंगो बजारबासीमै खुसीयाली छाएको स्थानीय रदिप आङदेम्बेले बताए । प्रायः वेगमा हावा चलिरहने र हुस्सु लागि रहने पाँचथर-इलाम सीमावर्ती सप्तमी बजारमा दुई वर्ष अघि वायु-सौर्य उर्जाको परिक्षण सुरु गरिएको थियो ।