अन्तरिक्ष मिसनमा चीनको सफलतापूर्वक अवतरण

(एजेन्सी) । चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । बेइजिङमा स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त मानवरहित चाँग इ–४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव (एटकेन बेसिनमा) अवतरण गरेको थियो । 

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ । त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई अन्तरिक्ष यात्राको एक महत्वपूर्ण कोशेढुङ्गा भनेको छ । चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ ।  पछिल्ला दिनहरूमा सो अन्तरिक्ष यानले अवतरणको तयारीमा लागेको थियो । 

चन्द्रमाको नजिकको भाग (देब्रे) र टाढाको भाग (दाहिने) बीच धेरै अन्तर छन् । गत सप्ताहन्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए । चन्द्रमाको उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो । सन् २०१३ मा चाँग इ–३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो । अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धूलोका नमूनाहरू पृथ्वीमा ल्याउनेछ ।  

अवतरण हुनु अघि भौतिकशास्त्री एण्ड्र्यु कोट्सले भनेका थिए, ‘यो साहसी अभियान एपोलोले गरेको ऐतिहासिक अवतरणको करिब ५० वर्षपछि गरिएको छ । सन् २०१९ को अन्ततिर यसले त्यहाँबाट नमूनाहरू ल्याउनेछ ।’

‘टाइडल लकिङ्’ भनिने प्रक्रियाका कारण पृथ्वीबाट हामीले चन्द्रमाको केवल एउटा पाटो मात्र देख्न सक्छौँ । किनभने चन्द्रमाले आफ्नो अक्षमा घुम्दा लाग्ने समय र उसले पृथ्वीको एक परिक्रमा गर्न लाग्ने समय अवधि एकै हुन्छ । त्यसैले चन्द्रमाको उक्त परको क्षेत्रलाई अँध्यारो पाटो भनिन्छ । यहाँ अँध्यारो भन्नाले प्रकाश नभएको नभइ नदेखिने पाटोको रूपमा बुझ्नु पर्छ । वास्तवमा चन्द्रमाका दुवै पाटाहरूमा दिन र रात हुने गर्छन् । 

चाँग इ–४ अभियानले त्यहाँको भन कार्मान क्रेटरको अध्ययन गर्ने लक्ष्य राखेको छ । उक्त क्रेटर वा खाल्डो चन्द्रमाको सुरुवाती इतिहासमा भएको कुनै विशाल घटनाका कारण बनेको ठानिन्छ ।