बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना

तनहुँ कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापूच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर लगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ ।

सुन्दर हिमशृङ्खलाहरूको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकहरूको पहिलो रोजाइमा बन्दीपुर पर्ने गर्छ । तर, संरचना विकासमा नेपाल सरकारले खासै ध्यान नदिएको भन्दै बन्दीपुरेहरूले नयाँ–नयाँ कार्यक्रम छनोट गरेका छन् ।

अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यहरूको खोजी भइरहेको छ । बन्दीपुरेहरूले पर्यटकहरूका लागि होमस्टेको व्यवस्था पनि गरेका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षण गर्न बन्दीपुरमा सुविधासम्पन्न होटलहरू रहेका छन् । बन्दीपुर आउने पर्यटकहरू यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ बताउँछन् । बन्दीपुर घुम्न भनेर मात्रै आउनेमध्ये अधिकाँश बन्दीपुरमा बास बस्ने गरेको गुरुङ्ग बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिले बन्दीपुरको प्रचारका लागि बेला–बेला महोत्सवको समेत आयोजना गर्ने गरेको छ ।

जाडो मौसम शुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको ओइरो लाग्ने गर्दछ । बन्दीपुर घुम्न आउने पर्यटकहरूलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । यहाँका पुराना घरहरू विदेशीहरूका लागि आकर्षण बन्ने गरेको छ ।