सरकारले गठन गर्‍यो वाइडबडी जाँचबुझ आयोग

सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन पुनरावेदन अदालत पोखराका पूर्व न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको हो। 

पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा आयोगका सदस्य छन्। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएको छ। 

विमान खरिदबारे संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गरेको हो।

सो उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी, मन्त्रालयका सचिव र निगमका महाप्रबन्धक समेतलाई दोषी देखाएको छ।