काम गर्ने दिन घट्दै, बिदा थपिँदै

- थप १३ दिन सार्वजनिक बिदा प्रस्ताव

सार्वजनिक बिदा पुनरावलोकन समितिले सरकारसमक्ष १३ दिन बिदा थप्न प्रस्ताव गरेको छ । समितिले ८ पर्वका लागि थप १३ दिन बिदा दिने प्रस्ताव गरेको हो । 

२०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत् राख्दै आगामी वर्षबाट मान्य हुनेगरी थप पर्व बिदा दिन समितिले सिफरिस गरेको हो । पछिल्लो समय पर्व बिदा कटौती गरेकोमा सरकारले आलोचना खेप्दै आएको छ ।

आदिवासी जनजाति महासंघको मागअनुसार किराँत समुदायको उभौली र उधौलीमा गरी (वैशाख र मंसिरमा) दुई दिन बिदा प्रस्ताव भएको छ । 

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलगयत मुस्लिम संस्थाका मागलाई सम्बोधन गर्दै इदुल फित्र, बकर इद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ । 

डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक बिदा दिने समितिको प्रस्ताव छ । क्रिस्चियन महासंघको मागअनुसार उक्त बिदा प्रस्ताव गरिएको हो ।

आगामी वर्षदेखि नै गुरुङ समुदायले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्बो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ ।

त्यस्तै, छठ पर्व, ऋषि पञ्चमी, माघी पर्व र जनैपूर्णिमामा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ ।