सन्तानको कमाइको निश्चित प्रतिशत अब बाबुआमाको खातामा बचत हुने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अब स्वरोजगार वा कुनै पनि रोजागारी गरेको सन्तानले आफ्नो बाबुआमाको लागि बैंकमा खाता खोलेर हरेक महिना रकम जम्मा गर्नुपर्ने बताए ।
मन्त्रिपरिषद्ले ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस भएको बताउँदै उनले उक्त विधेयक पास भएपछि प्रत्येक सन्तानले आफ्नो पारिश्रमिकको हिस्सा बाबुआमाका लागि बचत गर्नुपर्ने बताए ।
ज्येष्ठ नागरिकको जीवन सरल, सहज र सुरक्षित बनाउन यस्तो व्यवस्था गरिएको मन्त्री बाँस्कोटाले बताए । निजी वा सार्वजनिक संघसंस्थाका जुनसुकै पदमा रहेको भए पनि नियमित पारिश्रमिक लिनेहरु उक्त दायरामा पर्ने सरकारले बताएको छ । निवृत्तीभरण पाउने व्यक्तिले समेत बचत गर्नुपर्नेछ ।
यस्तै, स्वरोजगार वा कुनै पनि व्यावसाय गरेका व्याक्तिहरुले पनि आफ्नो आमाबुबाको लागि रकम जम्मा गर्नुपर्नेछ । आमाबुबा आफूसँगै भएका वा छुट्टा–छुट्टै बसेका सबैका लागि यो नियम लागू हुनेछ । बाबुआमाप्रति कानुनविपरीत व्यवहार गर्नेबाट दण्ड सजायस्वरुप उठाइएको रकम पनि सम्बन्धित बाबुआमाको खातामा जम्मा गरिने सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।
परिवारका सदस्यले नै ज्येष्ठ नागरिकलाई अपमान गर्ने समाचार बारम्बार आएकाले सरकारले ज्येष्ठ नागरिकको सम्मानस्वरुप यस्तो व्यवस्था गर्न लागेको हो ।
विधेयकमा ज्येष्ठ नागरिकको नाममा भएको सम्पत्ति आफ्नो नाममा गर्न पनि नपाइने व्यवस्था छ । छोराछोरीले बाबुआमालाई घरनिकाला गर्नेजस्ता व्यवहारलाई निरुत्साहित गर्न पनि यस्तो व्यवस्था गरेको उनले बताए ।




