एकैपटक १८ उद्योगलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डविपरीत गुणस्तरहीन वस्तु उत्पादन गर्ने विभिन्न १८ उद्योगलाई कारबाही गरेको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरूप सामान उत्पादन नगर्ने उद्योगलाई कारबाही गरिएको बताए । कारबाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री–वितरण रोकिएको विभागले जनाएको छ । 

विभागले चालू आर्थिक वर्षमा मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने त्यस्ता उद्योगलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लास्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौं स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा रहेका छन् । 

त्यसैगरी, इन्टरनेसनल सिमेन्ट प्रालि वीरगन्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौं, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उद्योग नवलपरासी, अर्घाखाँची सिमेन्ट उद्योग रूपन्देही र शुभश्री जगदम्बा सिमेन्ट उद्योग बारालाई कारबाही गरेको छ । 

कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने महानिर्देशक पुडासैनीले बताए ।