पोखरा २१ मा मेलमिलाप केन्द्र

पोखरा महानगरपालिका अन्तर्गत न्यायिक समितिको कामले तीव्रता पाएको छ ।

न्यायिक समिति गठन, कार्य विधिको अभावमा काम गर्न नपाएको समितिले महानगरमा न्यायिक इजलास, मेलमिलाप कर्ता सूचीकृत र मेलमिलापकर्तामार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेको समितिले वडा वडामा मेलमिलाप केन्द्र स्थापनालाई तीव्रता दिएको छ ।

वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले वडामै मेलमिलाप केन्द्र स्थापना गरिएको हो । न्यायिक समितिले बुधबार पोखरा २१ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।

पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्र उद्घाटन गर्दै वडा तहका विवादलाई तत्काल समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् ।

उनले सबै विवाद महानगरमा आउन नदिन वडाबाटै विवाद समाधान होस् भन्ने उद्देश्यले केन्द्र स्थापना गरिएको स्पष्ट पारिन् ।

संविधानले अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रुपमा पर्ने व्यवहारलाई कम गर्दै स्थानीय तहबाटै विवादको निरुपण र मेलमिलाप गराउने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरेको उनले बताइन् ।

‘विवादका पक्ष र विपक्ष दुवैलाई छलफलको माध्यमबाट विवाद समाधान गर्दै मेलमिलाप गराउने हो,’ उनले भनिन्, ‘न्यायिक समितिले दुवैलाई जिताउने गरी विवादको समाधान खोज्ने छ ।’ महानगरको न्यायिक समितिले वडा २१ मा १० जना सूचीकृत गरेको छ ।

न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका अधिकार क्षेत्र, मेलमिलाप कर्ता छनोट लगायतका बारे जानकारी दिए ।

पोखरा २१ का अध्यक्ष खगराज आचार्यले कानुनभित्र रहेर न्याय सम्पादन गर्नुपर्ने बताउँदै पक्ष, विपक्ष र समाज सबैले जितको महसुस गर्ने गरी मेलमिलाप गर्नुपर्ने बताए ।उनले पक्ष र विपक्षले मात्रै जितेर नहुने भन्दै विवादका पक्ष र विपक्षसहित समाज मिल्नुपर्ने बताए ।

वडाध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता हर्कबहादुर रेग्मी, पूर्व गाविस अध्यक्ष कमलमोहन पौडेल, महानगरका कानुन अधिकृत राममणि अधिकारी लगायतले बोलेका थिए । न्यायिक समितिले यस अघि वडा नम्बर ७, ३०, १३ मा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।