जेसिआइ पोखरा र लेडीको संयुक्त पदस्थापन

जेसिआइ पोखरा र जेसिआइ पोखरा लेडीको संयुक्त पदस्थापन भएको छ ।

पोखरामा भएको संयुक्त पदस्थापन कार्यक्रममा पोखरा जेसिज २०१८ अध्यक्ष शिव सुवेदीले २०१९ का अध्यक्ष सन्तोष शाही र पोखरा लेडी २०१८ अध्यक्ष सन्तु पौडेलले २०१९ अध्यक्ष सपना गिरीलाई पिन चेन हस्तान्तरण तथा सपथ गराए । २०१९ का अध्यक्षद्वय सन्तोष शाही र सपना गिरीले सञ्चालक समिति सदस्यहरुलाई सपथ गराए ।

नेपाल जेसिज वर्ष २०१९ का अध्यक्ष महेश पौडेलले पोखरा महानगरपालिका वडा नं. २१ का कृष्तिका शिवप्रसाद भुजेललाई नगद १५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे ।

आर्थिक अवस्था कमजोर भएका भुजेलको खुट्टामा भएको घाउका कारणले खुट्टा काट्नु परेकाले उपचारको लागि रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल जेसिज २०१९ का कोषाध्यक्ष सुजन श्रेष्ठ, क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, पोखरा लेडीका पूर्व अध्यक्ष संगीता पौडेल, पोखरा जेसिजका पूर्व अध्यक्ष प्रदीप रञ्जित, इक्यान कास्की अध्यक्ष भुवन क्षेत्री लगायतले बोलेका थिए ।

१८ देखि ४० वर्षका युवाको संस्था पोखरा जेसिजका ४० वर्ष कटेका जेसिज सदस्यलाई अवकाश पत्र प्रदान गरिएको छ । अवकास पत्र प्राप्त गर्नेहरुमा शंकर ढुंगाना, विशेश्वर आचार्य, धर्मराज पन्थी, बद्रीनाथ आचार्य र तिलकराम पौडेल छन् ।

कार्यक्रममा पोखरा जेसिज अध्यक्ष सन्तोष शाही र लेडीका अध्यक्ष सपना गिरीले वर्षभरि साथ र सहयोगको अपेक्षासहित वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । पोखरा जेसिज २०१९ अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन सपना गिरी र स्वागत प्रकाश घिमिरेले गरेका थिए ।