बन्दीपुरमा घुम्न आउनेको संख्या डेढ लाख पुग्यो

एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् ।

सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिएका छन् ।


सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । “भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका थिए उनले भने ”।

बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी आउने गर्दछन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक बढी मात्रामा बन्दीपुर आएका थिए ।

“नेपालीमा घुम्ने संस्कृतिको विकास हुँदै गएको छ,” गुरुङले भने ” जाडो मौसमसँगै यतिबेला बन्दीपुरमा पर्यटकको ओइरो लागेको छ । दैनिक करीब तीन सय पर्यटक बन्दीपुर घुम्न आउने गरेका छन् ।

क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधान बन्दीपुरको मनोरम दृश्य र ऐतिहासिकस्थलको बारेमा जानकारी लिन बाह्य पर्यटक आउने गरेको बताए । बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत सानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० सम्म पर्यटकले रात बिताउन सक्ने प्रधान बताउछन् ।