अमेरिकी राष्ट्रपतिको दौड सुरु गर्दै वारेन

संयुक्तराज्य अमेरिकामा डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छन् ।

उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक हुन् । वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको घोषणा गरेकी छन् । डेमोक्र्याटिक पार्टीभित्र अति लोकप्रिय र खरो स्वभावकी वारेनले प्रारम्भिक चरणमा उम्मेदवारीका लागि पार्टीभित्रको अवस्था बुझ्ने छिन् ।

उक्त घोषणापछि वारेनले चुनावी खर्च उठाउन पाउनेछिन् भने चुनावी अभियानका लागि आवश्यक कर्मचारी नियुक्ति गर्न पाउनेछिन् । डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिका लागि अन्य प्रभावशाली नेतामध्ये उनी अग्रस्थानमा छिन् ।

अमेरिकाको आयोवा राज्यको प्रारम्भिक चरणको अभियान शुरु हुनुभन्दा झण्डै १३ महिना अघि वारेनको उम्मेदवारी घोषणा भएको हो । “अमेरिकाका मध्यम वर्गीय जनता चौतर्फी आक्रमणको शिकार भएका छन्,” वारेनले सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा भनिएको छ ।

उनी म्यासाच्युसेट्स राज्यबाट सन् २०१३ देखि नै सिनेट सदस्यमा निर्वाचित हुँदै आएकी छन् । सरकारी स्कुलकी पूर्वशिक्षिका एवं हार्वर्ड विश्वविद्यालयकी कानुन विषयकी प्राध्यापक वारेन उपभोक्ता र श्रमिक अधिकारकी प्रखर अधिवक्ता पनि हुन् ।

तर अमेरिकी जनताले राष्ट्रपति ट्रम्पसँग जुध्न वारेनका सीमामाथि ध्यान दिने सम्भावना छ । दुवै नेताबीचको रस्साकस्सीले मिश्रित प्रतिफल दिएको छ ।

वारेनको पछिल्लो घोषणाप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै आफूलाई सन् २०२० मा राष्ट्रपतिबाट विस्थापन गर्न नसक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले वारेन उठ्ने विषयमा फक्स न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा व्यङ्ग्यात्मक शैलीमा भने, “तपाइँले वारेनका मनोरोग चिकित्सकलाई सोध्नुपर्छ ।”

राष्ट्रपति ट्रम्प नै सन् २०२० मा रिपब्लीकन पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने सम्भावना छ । डेमोक्र्याट पार्टीबाट सन् २०२० को राष्ट्रपति चुनावमा जुलियन क्यास्ट्रो, जोन डिलानी र रिचार्ड ओजेडासमेतका तीन दर्जन उम्मेदवार हुने सम्भावना छ ।