नयाँ वर्ष समारोहमा गोली चल्दा छ जनाको मृत्यु

थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यलाई गोली प्रहार गरेर हत्या गरेका छन् ।

नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली लागेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीले मंगलबार जनाएका छन् ।

चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि निरन्तर रुपमा गोली वर्र्र्षाएका थिए । अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

“पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्, तीमध्ये एक जना उनैका नौ वर्षको छोरा र छ वर्षकी छोरी पनि रहेका छन्” एक प्रहरी अधिकारीले भने । श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।

मारिनेमा अरु दुई महिला र दुई पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन ।