तेक्वान्दोमा नेपाललाई ७ स्वर्ण

भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सोमबार सात स्वर्ण पदक जितेको छ ।

भारतको कोलकातामा यही पुस १४ गतेदेखि शुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा चार स्वर्ण जित्न सफल भएको टोली व्यवस्थापक रोशन खानले जानकारी दिए ।

फाइटतर्फ जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिशा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भएका थिए ।

पुम्सेतर्फ रोशन खान, हिमलाल बेलबासे र निसा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए । पुम्सेमै विपिसा विकले फाइनलको यात्रा तय गरे पनि स्वर्ण जित्न असफल भइन् ।

सञ्चिता थापामगर भने कास्य पदकै सीमित भइन् । नेपाली टोलीको प्रशिक्षकमा सञ्जय विश्वकर्मा, अजय नेपाली, राजेशकुमार तामाङ, मेलिना गुरुङ र दीपनारायण चौधरीले नेपाली टोलीको प्रशिक्षण समालेका थिए ।