नेपालीले मनाए टोपी दिवस

‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस मनाएको छ ।

अंग्रेजी नयाँ वर्षको दिन आज माइतीघर मण्डलमा भेला भएर युवक युवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । माइतीघर मण्डलमा भेला भएका युवाले पञ्चेबाजा सहित मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरि गरेका थिए ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै अभियानले २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेको हो ।

सदियौँ देखि नेपाली पहिचानका रुपमा रहेको दौरासुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने माग सहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।