पूर्वराजा ज्ञानेन्द्रसँग कांग्रेस नेताहरुको पोखरामा गोप्य भेटघाट

नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता विपी कोइरालाले अबलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको स्वागत गर्न प्रत्येक बर्ष मेलमिलाप दिवस मनाउने गर्दछ ।

सोमबार देशभर नेपाली कांग्रेसका नेता कार्यकर्ताले मेलमिलाप दिवस मनाए । तर पोखराका कांग्रेस नेताहरुले भने मेलमिलाप दिवस मनाउनुभन्दा पहिले गद्दी च्यूत भएका पूर्वराजा ज्ञानेन्द्रको दर्शन गरेका छन् ।

धार्मिक निजी भ्रमण भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह लामो समयदेखि पोखरामा छन् । पोखरामा उनको गणतन्त्रभित्र राजतन्त्रको झल्को दिनेगरी स्वागत भएको छ भने राजनीतिक दलका नेताहरुले भेटघाट गरिरहेका छन् ।

विपीको मेलमिलाप दिवसकै दिन नेपाली कांग्रेसका नेताहरुले पूर्वराजा बसेकै ठाउँमा पुगेर भेटघाट गरेका छन् । पूर्व राज्यमन्त्री सुशीलमान शेरचनnसहितका कांग्रेस नेताहरुले पूर्वराजा शाहलाई भेटेका छन् ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर विपी कोइराला भारतबाट नेपाल फर्किएका थिए । त्यही सन्दर्भ पारेर नेपाली कांग्रेसले हरेक बर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको हो।


सुशीलमान शेरचन नेपाली कांग्रेसका नेता मात्र हैनन् राजनीतिक विरासत थामेको कांग्रेस परिवारभित्रका सदस्य हुन् । विपी प्रधानमन्त्री हुँदा शेरचनका बुवा योगेन्द्र शेरचन मन्त्री थिए । विपी क्याविनेटका मन्त्री शेरचनका छोराले विपीकै मेलमिलाप दिवसका दिन पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले पोखरामा बसेर धार्मिक भ्रमण मात्र गरेका छैनन, राजनीतिक भेटघाट पनि गरिरहेका छन् । पूर्वपञ्च नेतादेखि नेपाली कांग्रेसका नेताहरुसँग उनले भेटघाट गर्ने गरेका छन् । उनको स्वागतमा हजारौ मानिसहरु सडकमा आउन थालेका छन् ।