
सप्तरीमा हराइरहेकी एक महिला हत्या गरिएको अवस्थामा फेला परेकी छन् ।सप्तरीको सप्तकोशी नगरपालिका–१० की २६ वर्षीया पदिकी शेर्पाको शव फेला परेको हो ।
हत्या आरोपमा प्रहरीले त्यही ठाउँका ३७ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय रमेश श्रेष्ठकी श्रीमती शेर्पा यही पुस १२ गते बिहान २ बजे घरबाटै एकाएक बेपत्ता भएकी थिइन् ।
खोजतलासका क्रममा भोलिपल्ट पुस १३ गते बिहान उनकै घरदेखि सय मिटर पूर्व नहरमा मृत अवस्थामा फेला परेकी थिइन् । ढुंगा तथा खुकुरीले हानेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत रिसइबीका कारण अभियुक्त तामाङले कर्तव्य गरी हत्या गरिएको खुल्न आएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।