
संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ ।
वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले जहाज खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो ।
उपसमितिले खरिद प्रक्रियामा संलग्न वायुसेवा निगम सञ्चालक समिति तथा निगम मूल्यांकन समितिका सबै सदस्यमाथि कारबाहीको सिफारिस गरेको छ।
निगमले दुइटा वाइड बडी जहाज खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन गर्न उपसमिति गठन गरेको थियो। उपसमितिले १५ दिनसम्म अनुसन्धान गरी झन्डै चार अर्ब अनियमितता भएको फेला पारेको हो।
तीन शीर्षकमा बढी घोटाला
प्रतिवेदनमा तीन शीर्षकमा सबैभन्दा बढी रकम घोटाला भएको उल्लेख छ। उपसमितिका एक सदस्यका अनुसार जहाजको तौल, आधार मूल्य र मूल्य समायोजनमा सबैभन्दा बढी रकम घोटाला भएको छ। प्रत्येक शीर्षकमा एकएक अर्ब रुपैयाँ घोटाला भएको अनुसन्धानका क्रममा भेटिएको ती सदस्यले जानकारी दिए।